क्रिकेट रंगशाला सहित १८ संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न त्रिविको निर्देशन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै १८ संस्थालाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। त्रिविले गत वैशाख ४ गते सूचना जारी गर्दै विश्वविद्यालयको जग्गा प्रयोग गरिरहेका संघसंस्थालाई समयसीमाभित्र खाली गर्न पत्राचार गरेको हो।
त्रिवि स्रोतका अनुसार नेपाल क्रिकेट संघ (क्यान) सहित विभिन्न संस्थालाई पत्र पठाइएको छ। क्यानसँगको सम्झौता पनि यही महिनाको अन्त्यमा सकिँदैछ। खोजबिन समितिको प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रसहित त्रिविको करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ।
प्रतिवेदनमा लेबोरेटरी माध्यमिक विद्यालय, क्यान, खानेपानी बोर्ड, विभिन्न प्राध्यापक संघ, कीर्तिपुर नगरपालिका, सार्वजनिक शौचालय र बस पार्कलगायत संरचना त्रिविको जग्गामा रहेको उल्लेख छ। कतिपय संस्थाले अनुमति बिना संरचना बनाएको र भाडा समेत नतिरेको पनि प्रतिवेदनमा देखिएको छ।
त्रिविले जग्गा संरक्षणमा कमजोरी भएको र कतिपय अवस्थामा मिलेमतोमा अतिक्रमण भएको हुनसक्ने आशंका पनि गरेको छ। क्यानका प्रवक्ताले पत्र आएको पुष्टि गर्दै यस विषयमा छलफल गरेर निर्णय गर्ने बताएका छन्।







