थापाथली, गैरीगाउँ र मनोहराका सुकुम्वासी दर्ता प्रक्रियामा, ४३२ परिवार सरकारको सम्पर्कमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of थापाथली, गैरीगाउँ र मनोहराका सुकुम्वासी दर्ता प्रक्रियामा, ४३२ परिवार सरकारको सम्पर्कमा

काठमाडौ । काठमाडौं उपत्यकामा सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू सरकारी दर्ता प्रक्रियामा सम्पर्कमा आउन थालेका छन्। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा हालै डोजर चलाएर बस्ती हटाइएपछि धेरै परिवार अस्थायी व्यवस्थापन र दर्ताका लागि सम्पर्कमा आएका हुन्।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार तीन वटै बस्तीमा कुल ४३२ परिवार सरकारको सम्पर्कमा आएका छन्। थापाथलीमा वर्षौँदेखि बस्दै आएका १३२ परिवारमध्ये ३४ परिवार मात्र सम्पर्कमा आएका छन्। गैरीगाउँमा १६२ परिवार बस्दै आएका थिए भने मनोहरामा करिब ७७७ परिवार रहेको तथ्यांक छ।

शनिबार थापाथली र गैरीगाउँमा डोजर चलाइएको थियो भने मनोहरामा आइतबारदेखि हटाउने काम भइरहेको छ। धेरै बासिन्दाले आफैं बस्ती छोडेका छन् भने केहीलाई सरकारले विभिन्न ठाउँमा अस्थायी रूपमा राखेको छ। काठमाडौं महानगरपालिकाले सम्पर्कमा आएका मानिसहरूको स्वास्थ्य परीक्षण र खानाको व्यवस्था गरेको छ।

शनिबार मात्रै राधास्वामी सत्संग व्यास आश्रममा २३२ जनालाई राखिएको थियो, जसमध्ये १३२ जनाले त्यहीँ आश्रय लिए। बालाजुका होटलमा १११ जनालाई व्यवस्थापन गरिएको छ। महानगरका अनुसार केही परिवार सरकारी सेल्टरमा बस्न मानेका छैनन् र आफन्तकहाँ जाने भन्दै हिँडेका छन्।

सरकारले वास्तविक सुकुम्वासी र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू छुट्याएर व्यवस्थापन गर्ने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्वासीलाई उचित व्यवस्था र जग्गा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्।