पत्रकारको प्रश्नमा ट्रम्प आक्रोशित, अन्तर्वार्तामै चर्काचर्की
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पत्रकारसँग आक्रोशित भएका छन्।
महिला पत्रकार नोरा ओडोनेलले सीबीएस न्युजको ६० मिनेट नामको कार्यक्रममा ट्रम्पसँग अन्तर्वार्ता लिइरहेकी थिइन्। सो क्रममा ह्वाइट हाउस गोलीकाण्डमा पक्राउ परेका व्यक्तिले लेखेको पत्रबारे प्रश्न उठेपछि विवाद भएको हो।
पत्रमा एपस्टिन सँग ट्रम्पको सम्बन्धबारे उल्लेख गरिएको थियो। पत्रकारले उक्त पत्र पढेर सुनाएपछि ट्रम्प रिसाएका थिए। ट्रम्पले आफूलाई गलत आरोपमा जोडिएको भन्दै कडा प्रतिक्रिया दिएका छन्।
उनले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको दाबी गरे। साथै, यस्तो सामग्री टेलिभिजनमा पढ्नु नहुने भन्दै पत्रकारलाई आपत्ति जनाए। पत्रकार ओडोनेलले भने आफूले पत्रमा लेखिएको कुरा मात्रै पढेको स्पष्ट पारेकी थिइन्।
अन्तर्वार्ताका क्रममा दुवैबीच केहीबेर चर्काचर्कीसमेत भएको बताइएको छ। यो घटना अहिले अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।







