नेकपाको बैठक आज, जिम्मेवारी बाँडफाँट र महाधिवेशनबारे निर्णय हुन सक्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपाको बैठक आज, जिम्मेवारी बाँडफाँट र महाधिवेशनबारे निर्णय हुन सक्ने

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पेरिसडाँडामा हुने बैठकमा पार्टी संगठन र नेतृत्व व्यवस्थापनबारे महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

बैठकमा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधब कुमार नेपालले तयार पारेको विशेष प्रस्ताव पेश गर्ने बताइएको छ । बैठकमा नेताहरूको कार्य विभाजन, प्रदेश इन्चार्ज तोक्ने, विभागीय जिम्मेवारी बाँडफाँट र पार्टीका केन्द्रीय निकायलाई पूर्णता दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ।

साविक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच सन्तुलन मिलाएर जिम्मेवारी बाँड्ने तयारी गरिएको छ। प्रदेश र विभागमा दुवै पक्षलाई समेट्ने गरी नेतृत्व चयन गरिने बताइएको छ।

बैठकमा १२५ सदस्यीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ। यस्तै, पार्टी एकता महाधिवेशनको मिति तय गर्ने विषयमा पनि निर्णय हुन सक्ने बताइएको छ।

६ महिनाभित्र महाधिवेशन गर्ने तयारीबारे बैठकमा ठोस निष्कर्ष निस्किन सक्ने अपेक्षा गरिएको छ।