कांग्रेसमा संसदीय दल नेताका लागि सहमति, आजै निर्णय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा संसदीय दल नेता चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टीले सहमतिमै नेता चयन गर्ने तयारी गरेको छ। उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले विभिन्न नेताहरू र सांसदहरूसँग छलफल गरेर एक जना नाममा सहमति जुटाएको हो।
उक्त नाम आज बिहान सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापा लाई बुझाइनेछ। सभापतिले सोही नामलाई प्रस्तावका रूपमा बैठकमा पेश गर्नेछन्। प्रस्ताव नआएसम्म भने उक्त नाम सार्वजनिक गरिने छैन।
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्ने व्यवस्था छ। त्यसका लागि आज दिउँसो १ बजे सांसदहरूबीच छलफल हुनेछ। यदि सबै सांसद सहमत भए भने सोही नामबाट नेता चयन हुनेछ, नभए मतदान हुने सम्भावना छ।
समितिले सहमति जुटाउने क्रममा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य लगायत नेताहरूसँग छलफल गरेको थियो। केसीले सर्वसम्मति नभए चुनाव नलड्ने बताएका कारण उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
पार्टीका ३८ जना सांसद छन्। संसदीय दल नेता चयनमा ढिलाइ भएको भन्दै पूर्णबहादुर खड्का लगायत केही नेताहरूले असन्तुष्टि जनाएका थिए। अहिले भने सहमति जुटेकाले आजै नेता चयन हुने अपेक्षा गरिएको छ।







