मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा मारिए, देशमा तनाव बढ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो केमारा आत्मघाती ट्रक विष्फोटमा मारिएका छन्। राजधानी बमाको नजिकै रहेको उनको निवासमा विष्फोट भएको हो। घटनामा उनी गम्भीर घाइते भएका थिए र पछि उनको मृत्यु भएको पुष्टि गरिएको छ। मालीको सरकारी टेलिभिजनले पनि उनको मृत्युको खबर प्रसारण गरेको छ।
आक्रमण राष्ट्रपति असीमी गोइटा को निवासलाई समेत लक्षित गरिएको बताइएको छ। उनलाई भने सुरक्षित स्थानमा सारिएको छ। मालीमा पछिल्लो समय हिंसा र अस्थिरता बढिरहेको छ। राजधानी बमाकोसहित विभिन्न शहरहरूमा चरमपन्थी समूहहरूले आक्रमण गर्दै आएका छन्। सैनिक ब्यारेक र सरकारी भवनहरूमा पनि आक्रमण भएको जनाइएको छ।
आक्रमणमा जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन ले आफ्नो संलग्नता स्वीकार गरेको छ। उसले अर्को समूह आजावाद लिबरेसन फ्रन्ट सँग मिलेर आक्रमण गरेको बताएको छ। सन् २०२० र २०२१ मा भएको सैन्य विद्रोहपछि मालीमा सुरक्षा चुनौती बढ्दै गएको छ। अहिले देशमा लगातार हिंसा भइरहेकाले अवस्था तनावपूर्ण बनेको छ।







