सरकारको श्वेतपत्र: बाह्य अर्थतन्त्र सुधार, आन्तरिक क्षेत्रमा चुनौती (श्वेतपत्रको पूर्णपाठ)

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारको श्वेतपत्र: बाह्य अर्थतन्त्र सुधार, आन्तरिक क्षेत्रमा चुनौती  (श्वेतपत्रको पूर्णपाठ)

काठमाडौ । सरकारले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) ले देशको अर्थतन्त्रमा मिश्रित अवस्था देखाएको छ। स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि गरिएको निर्णयअनुसार तयार पारिएको यो प्रतिवेदनले बाह्य आर्थिक अवस्था सुधार भए पनि आन्तरिक उत्पादन र खर्च प्रणालीमा समस्या रहेको देखाएको हो।

प्रतिवेदन अनुसार रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढेको छ। तर आर्थिक वृद्धि सुस्त छ र सार्वजनिक ऋण पनि निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धि ३.५ प्रतिशत रहने अनुमान गरिएको छ, जुन छिमेकी देशहरूको तुलनामा कम हो। हाल नेपालको औसत आर्थिक वृद्धि करिब ४.२ प्रतिशतमा सीमित छ।

कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्र बढ्दै गएको छ। अहिले कुल गार्हस्थ्य उत्पादन (GDP) मा सेवा क्षेत्रको हिस्सा ६२ प्रतिशत पुगेको छ, उद्योग क्षेत्र भने १२.८ प्रतिशतमा सीमित छ। बाह्य क्षेत्र भने बलियो देखिएको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स १४ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ, जसले करिब साढे १८ महिनाको आयात धान्न सक्छ।

तर सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन जीडीपीको करिब ४३.८ प्रतिशत हो। ऋणको बढ्दो बोझका कारण विकास खर्चमा दबाब परेको पनि प्रतिवेदनमा उल्लेख छ।