दशरथ रंगशालामा सुकुम्बासीको भीड, ८९१ परिवारले गराए दर्ता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विस्थापित सुकुम्बासी परिवारहरू आउने क्रम बढेको छ। सोमबार साँझ ५ बजेसम्म ८९१ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका कुल ३ हजार ७९२ जना सदस्य रहेका छन्। तीमध्ये १५ सयभन्दा बढी बालबालिका छन्।
सरकारले थापाथली, सिनामंगल, गैरीगाउँ, मनोहरा लगायतका बस्ती हटाएपछि सुकुम्बासीहरू डर र अन्योलमा परेका थिए। अहिले उनीहरू विस्तारै सम्पर्कमा आउँदै रंगशालामा विवरण दर्ता गराउन आइरहेका छन्। सरकारले रंगशालामा हेल्प डेस्क राखेर नाम दर्ता गर्ने व्यवस्था मिलाएको छ। साथै, बस्न र खान समस्या भएका परिवारलाई विभिन्न ‘होल्डिङ सेन्टर’, होटल र लजमा राख्ने काम भइरहेको छ।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्क राखेर विवरण संकलन गरिरहेका छन्। रंगशालामै स्वास्थ्य जाँच र खाना वितरणको व्यवस्था गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिका ले गरिरहेको छ। थापाथलीबाट धेरैजसो परिवार आइसकेका छन् भने अन्य क्षेत्रबाट आउने क्रम अझै जारी छ।







