इरान–अमेरिका तनाव कम गर्न पाकिस्तान सक्रिय, इरानी विदेशमन्त्री फेरि इस्लामाबादमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । इरानी विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तान पुगेका छन्। पछिल्लो दुई दिनमा उनको यो तेस्रो भ्रमण हो। यसलाई इरान–अमेरिका तनाव कम गर्ने कूटनीतिक प्रयासको रूपमा हेरिएको छ।
अराघचीको लगातार पाकिस्तान भ्रमणले इस्लामाबादले मध्यस्थकर्ताको भूमिका खेलिरहेको संकेत दिएको छ। इरान र अमेरिकाबीच संवादका लागि पाकिस्तान सक्रिय देखिएको छ।
पाकिस्तान आउनुअघि अराघचीले भ्लादिमिर पुटिनसँग सँग भेटवार्ता गरेका थिए। भेटमा क्षेत्रीय सुरक्षा, युद्धको अवस्था र शान्ति प्रयासबारे छलफल भएको बताइएको छ।
रसियाले इरानलाई समर्थन जनाउँदै सैन्य र कूटनीतिक सहकार्य अझ बलियो बनाउने संकेत दिएको छ। यता ह्वाइट हाउसले इरानले पठाएको तीनबुँदे प्रस्तावमाथि छलफल भइरहेको जनाएको छ। प्रस्तावमा होर्मुज जलमार्ग खुला गर्ने, युद्धविराम गर्ने र परमाणु वार्ता अघि बढाउने विषय रहेको बताइएको छ।
ट्रम्प शासनले पनि यसबारे छलफल गरिरहेको जनाइएको छ। पछिल्ला गतिविधिले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र भएको देखिएको छ।







