आजदेखि नयाँ शैक्षिकसत्र सुरु, भर्ना प्रक्रिया औपचारिक रूपमा शुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of आजदेखि नयाँ शैक्षिकसत्र सुरु, भर्ना प्रक्रिया औपचारिक रूपमा शुरु

काठमाडौ । देशभर आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ।

सरकारको निर्णयअनुसार वैशाख १५ गतेबाट विद्यालय तहको नयाँ शैक्षिकसत्र औपचारिक रूपमा सुरु गरिएको हो। शिक्षा मन्त्रालयले यस वर्ष पनि यही मितिबाट भर्ना र पठनपाठन प्रक्रिया अघि बढाएको जनाएको छ।

यसअघि वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुने गरे पनि निजी विद्यालयले समयअघि भर्ना लिने क्रम रोक्न शैक्षिकसत्रको मिति सारिएको हो। सरकारले निजी विद्यालयलाई कानुनविपरीत लिइएको भर्ना तथा अन्य शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। तोकिएको मापदण्डभन्दा बाहिर शुल्क लिन नपाइने पनि स्पष्ट गरिएको छ।

यस्तै सर्वोच्च अदालतले पनि परीक्षा नतिजा सार्वजनिक नभई भर्ना प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना गर्नुपर्ने बताएको छ। सरकारले नयाँ शैक्षिकसत्रसँगै भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने तयारी गरेको जनाएको छ।