नेपाललाई डिजिटल लगानीको नयाँ गन्तव्य बनाउन आह्वान
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाललाई डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित ऊर्जामा आधारित लगानीको आकर्षक गन्तव्य बनाउन सकिने बताएका छन्।
बेल्जियमको ब्रसेल्समा आयोजना गरिएको नेपाल-ईयू टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै उनले नेपाल र युरोपेली संघबीचको सहकार्यलाई अब डिजिटल क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार विश्व अर्थतन्त्र अहिले तीव्र रूपमा डिजिटलतर्फ अघि बढिरहेको छ। यस्तो अवस्थामा प्रविधि, ऊर्जा र मानव स्रोतको संयोजन नै आर्थिक विकासको मुख्य आधार बन्नेछ। ज्ञवालीले नेपालसँग रहेको जलविद्युत् जस्ता हरित ऊर्जा स्रोतले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता पूर्वाधारका लागि उपयुक्त वातावरण प्रदान गर्ने बताए।
सरकारले पनि डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिँदै लगानीमैत्री वातावरण बनाउन विभिन्न सुधार अघि बढाएको उनले जानकारी दिए। विदेशी लगानीमा रहेका केही सीमाहरू हटाइएको र सुचना प्रविधि तथा डिजिटल सेवामा प्रक्रिया सरल बनाइएको उनले बताए। लगानी बोर्डले डेटा सेन्टर, सुचना पार्क र डिजिटल हब निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए। उनले अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै नेपाललाई रणनीतिक डिजिटल गन्तव्यका रूपमा हेर्न आग्रह गरेका छन्।







