इरानको व्यापार सहज बनाउन पाकिस्तानले नयाँ करिडोर खोल्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पाकिस्तानले इरानको व्यापार सहज बनाउन आफ्ना बन्दरगाह र मार्ग खुला गरेको छ। अब इरानले पाकिस्तानमार्फत तेस्रो देशसँग आयात–निर्यात गर्न सक्नेछ। पाकिस्तानको वाणिज्य मन्त्रालयले ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ आदेश २०२६ जारी गर्दै इरानी सामानका लागि छ वटा व्यापारिक करिडोर तोकेको हो।
यसअन्तर्गत ग्वादर बन्दरगाह र कराची बन्दरगाह प्रमुख रूपमा प्रयोग गरिनेछन्। हाल होर्मुज जलडमरू क्षेत्रमा बढेको तनाव र नाकाबन्दीका कारण इरानको समुद्री व्यापार प्रभावित भएको छ। यस्तो अवस्थामा पाकिस्तानले दिएको सुविधा इरानका लागि महत्वपूर्ण मानिएको छ। सामान्यतया भूपरिवेष्ठित देशहरूले तेस्रो देशको बाटो प्रयोग गरेर व्यापार गर्छन्। अहिलेको परिस्थितिमा इरान पनि त्यस्तै अवस्थामा पुगेको छ।
विश्लेषकहरूका अनुसार, पाकिस्तानको यो कदमले दुवै देशबीच विश्वास बढाउनेछ र क्षेत्रीय व्यापारलाई पनि सहयोग पुर्याउनेछ। साथै, पाकिस्तानले आफूलाई व्यापारिक करिडोर र लजिस्टिक्स हबका रूपमा विकास गर्ने प्रयास गरेको देखिन्छ। पाकिस्तानका वाणिज्य मन्त्री जाम कमालले यस निर्णयले देशको रणनीतिक महत्व अझ बढाउने बताएका छन्।







