मन्त्री सीता बादीको प्रतिबद्धता: ‘नातावाद र अनियमितता नगर्ने’
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता बादीले आफूले नगर्ने कामहरूको सूची सार्वजनिक गरेकी छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले पारदर्शी र निष्पक्ष काम गर्ने प्रतिबद्धता जनाउँदै १० बुँदे सूची सार्वजनिक गरेकी हुन्।
उनका अनुसार नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नदिने, त्यस्तै नाताका व्यक्तिलाई नियुक्ति वा सरुवा–बढुवा गर्ने काम पनि नगर्ने बताएकी छन्। त्यसैगरी स्वार्थका आधारमा सरुवा–बढुवा मिलाउने, कानुनविपरीत भनसुन गर्ने र शक्तिको दुरुपयोग गर्ने काम आफूबाट नहुने उनले स्पष्ट पारेकी छन्।
कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई संरक्षण गर्ने वा गलत काम गर्नेहरूलाई जोगाउने कार्य पनि नगर्ने उनको भनाइ छ। मन्त्री बादीले आफूले जिम्मेवारी सम्हालेको करिब पाँच हप्ताको अनुभवलाई आधार बनाएर यो प्रतिबद्धता सार्वजनिक गरेको बताएकी छन्। उनले आगामी दिनमा मन्त्रालयका कामबारे थप जानकारी दिने पनि उल्लेख गरेकी छन्।








