२४ घण्टाभित्र शेखर गोल्छालाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ ।उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा राखिएको विषयमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। सीआईबीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षी पक्षलाई २४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। यो रिट गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेकी थिइन्।
यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त आदेश न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले दिएको हो। सीआईबीले गोल्छालाई गत वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। अहिले कानुनी प्रक्रिया अदालतको आदेशअनुसार अघि बढिरहेको छ।







