अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाली कांग्रेसले विरोध जनाएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ गएको आरोप लगाएका छन्। उनले संसद्मा बहुमत हुँदाहुँदै पनि बारम्बार अध्यादेश ल्याउनु उचित नभएको बताएका छन्।
यसले लोकतान्त्रिक प्रक्रिया कमजोर हुन सक्ने उनको भनाइ छ। ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ । यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ चालिसेले वक्तव्यमा लेखेका छन्, ‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ ।’
यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिमा केन्द्रित गर्ने र प्रणालीलाई कमजोर बनाउने कांग्रेसको भनाइ छ । ‘यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रीत गरी प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिता बिना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिन्छ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार रहेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेश अहिले राष्ट्रपतिको कार्यालयमा पुगेको छ। कांग्रेसले यस विषयमा सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ।







