भारत सीमाबाट सामान ल्याउँदा भन्सारबारे सर्वोच्चको चासो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल–भारत सीमाबाट घरायसी प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ। न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि बोलाएको हो।
यो रिट अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो लगायतले दायर गरेका थिए। रिटमा भारतसँगको खुला सीमामा १०० रुपैयाँको मात्र भन्सार छुट सीमा तोकिएको तर अन्य नाकाबाट आउने यात्रुका लागि बढी छुट दिइएको भन्दै विभेद भएको दाबी गरिएको छ।
रिट निवेदकहरूले अहिलेको महँगीमा १०० रुपैयाँको सीमा अव्यवहारिक भएको र यसले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई समस्या परेको बताएका छन्। दैनिक उपभोग्य वस्तु ल्याउँदा समेत हैरानी खेप्नुपरेको उल्लेख गरिएको छ। उनीहरूले मुद्दाको अन्तिम निर्णय नभएसम्म सीमा क्षेत्रमा दैनिक आवश्यक सामान ल्याउँदा भन्सार नलिन अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।
रिटमा सन् १९६० को नेपाल–भारत व्यापार सन्धिअनुसार दुई देशबीच सामानको सहज आवागमन हुनुपर्नेमा हालको निर्णय त्यसको विपरीत भएको पनि उल्लेख गरिएको छ।







