सरकारी सवारी साधन प्रयोगमा कडाइ, ६२२ गाडी फिर्ता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ। अनावश्यक रूपमा प्रयोग भइरहेका सरकारी गाडी फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको जनाएको छ। सरकारी अध्ययन अनुसार कानुनले राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका कर्मचारीलाई मात्र सवारी सुविधा दिने व्यवस्था भए पनि तल्लो तहका कर्मचारीहरूले समेत सरकारी गाडी प्रयोग गरिरहेको पाइएको छ।
त्यसपछि सरकारले २०८३ वैशाख १० गते सबै मन्त्रालय र निकायलाई परिपत्र गर्दै अनावश्यक रूपमा प्रयोग भएका सवारी साधन तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो। अब कानुनअनुसार तोकिएको पदबाहेक कसैले पनि व्यक्तिगत रूपमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने व्यवस्था लागू हुने भएको छ। तर कामको आवश्यकता अनुसार सामूहिक रूपमा प्रयोग गर्न भने सकिनेछ।
सरकारले यो कदम इन्धन, मर्मत खर्च र अन्य सुविधा खर्च घटाउन तथा राज्यको स्रोतको दुरुपयोग रोक्नका लागि लिएको जनाएको छ। साथै, अनावश्यक प्रयोगका कारण राज्यलाई भएको आर्थिक भारबारे अध्ययन भइरहेको पनि बताइएको छ।







