डा आरजु राणाका भाइ र बाबु आमा बस्ने घरमा सिआईबीको छापा


काठमाडौ । विवादित नक्कली भुटानी शरणार्थी प्रकरण फेरि तातिएको छ। लामो समयदेखि राजनीतिक दबाबका कारण रोकिएको यो प्रकरणमा गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनपछि पुनः अनुसन्धान अघि बढाइएको छ।
त्यसै क्रममा आइतबार दिउँसो प्रहरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका सालो तथा नेतृ डा आरजु राणाका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा छापा मारेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डीएसपी सत्यनारायण थापाको टोलीले राणाको घरमा प्रवेश गरी लिभिङ रुम र शयनकक्षमा छानबिन गरे पनि अनुसन्धानको क्रममा कुनै शंकास्पद सामग्री फेला पार्न सकेन ।
भूषण राणा हाल इटलीमा रहेको र उनको अनुपस्थितिमा परिवारको सहमतिमा अनुसन्धान गरिएको बताइएको छ। प्रहरीका अनुसार राणासँग यसअघि एकपटक बयान लिइएको थियो। घटनामा संलग्नता नकारेपनि उनी र उनकी दिदी डा आरजु राणाको भूमिका देखिएको दाबी अनुसन्धान टोलीले गरेको छ ।
यस्तै सिआइवीले आरजु राणाको बाबु आमा बस्ने घरमा पनि छापा मारेको छ । शंकासपद नगद र कागजात रहेको आशंकामा छापा हानेको बताइएको छ ।
यसअघि सो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृह सचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध मुद्दा दायर भइसकेको छ।
खाँण, रायमाझी र पाण्डेसहित १६ जना अहिले पनि पुर्पक्षका लागि थुनामा छन्। खाँण भने गत मंसिर २८ गते उच्च अदालत पाटनको आदेशमा ३० लाख धरौटीमा रिहा भइसकेका छन्।