संसद् स्थगित गरेर अध्यादेश ल्याउनु गलत : पूर्णबहादुर खड्का

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसद् स्थगित गरेर अध्यादेश ल्याउनु गलत : पूर्णबहादुर खड्का

काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले संसद् स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमको आलोचना गरेका छन्। उनले यस्तो निर्णय कुनै पनि हिसाबले उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत खड्काले सामान्य अवस्थामा होइन, विशेष परिस्थितिमा मात्र अध्यादेश ल्याउनु स्वाभाविक मानिने बताए। तर बोलाइसकिएको संसद् बैठक नै नबसाई अध्यादेश ल्याउनु गलत भएको उनको भनाइ छ।

उनले अध्यादेश फिर्ता लिएर तत्काल संसद् बैठक बोलाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले ल्याउन चाहेका विषय विधेयकमार्फत संसद्बाटै अघि बढाउनुपर्ने उनले बताएका छन्।

सरकारले विगतका गलत अभ्यास दोहोर्याउन नहुने भन्दै खड्काले दुई तिहाइ नजिकको बहुमत भएको सरकारले यस्तो कदम चाल्नु अहंकारी शैली भएको टिप्पणी गरेका छन्। उनले यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता, सरकार र देशको दीर्घकालीन हितलाई असर गर्न सक्ने चेतावनी दिएका छन्।