अध्यादेशको विषयमा रास्वपाभित्रै असन्तुष्टि

User Image Prime TV News १ हप्ता अगाडि
Image of अध्यादेशको विषयमा रास्वपाभित्रै असन्तुष्टि

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। रास्वपाका सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु ‘बहादुरी’ नभएको बताएका छन्।

‘मलाई प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ। विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ,’  बुधबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला। तर यो बहादुरी भने होइन।’

साथै उनले अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताएका छन्। ‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन,’ सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले लेखेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो। संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस्।’

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेको थियो। ती अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको छ र अहिले अध्ययन भइरहेको बताइएको छ। कार्कीले बहुमत भएको सरकारले किन अध्यादेश ल्याउनु पर्‍यो भन्ने प्रश्न उठाएका छन्। उनले संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यसको मर्म पनि ध्यान दिनुपर्ने बताएका छन् ।