पीएसजीको रोमाञ्चक जित, बायर्नलाई ५–४ ले पराजित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जर्मन क्लब बायर्न म्युनिख लाई ५–४ ले पराजित गरेको छ। खेल पीएसजीको घरेलु मैदानमा भएको थियो र निकै रोमाञ्चक रह्यो। पहिलो हाफमै पीएसजीले ३–२ को अग्रता बनाएको थियो। खेलमा कुल ९ गोल भएका थिए।
बायर्नका ह्यारी केनले १७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। तर पीएसजीले छिट्टै खेलमा फर्केर लगातार गोल गर्यो। भरात्स्खेलियाले २४औं मिनेटमा बराबरी गोल गरे भने जोआओ नेभेसले ३३औं मिनेटमा अर्को गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
पहिलो हाफको अन्त्यतिर बायर्नका माइकल ओलिसेले बराबरी गरे। त्यसपछि उस्मान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई फेरि अगाडि बढाए। दोस्रो हाफमा पनि पीएसजीले दबाब कायम राख्यो। भरात्स्खेलियाले दोस्रो गोल गरे भने डेम्बेलेले अर्को गोल थपेपछि स्कोर ५–२ पुग्यो। त्यसपछि बायर्नले दुई गोल फर्काउँदै खेल रोमाञ्चक बनायो। तर अन्त्यमा थप गोल गर्न नसक्दा पराजित भयो।
यो जितसँगै पीएसजीले दोस्रो लेगअघि अग्रता बनाएको छ। अब दोस्रो लेग बायर्नको मैदानमा हुनेछ, जहाँ फाइनल पुग्ने टोलीको निर्णय हुनेछ।







