रास्वपाले सांसदलाई ‘माननीय’ नलेख्न निर्देशन

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले सांसदलाई ‘माननीय’ नलेख्न निर्देशन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई कुनै पनि कागजातमा ‘माननीय’ नलेख्न निर्देशन दिएको छ। साथै सांसदहरूले प्रयोग गर्ने लेटरहेड, कार्डलगायतका कागजातमा एकरूपता कायम गर्न पनि पार्टीले भनेको छ।

यो निर्णय बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा गरिएको हो। पार्टी प्रवक्ता मनिष झा का अनुसार सांसदहरूलाई अझ धेरै सिक्न बाँकी रहेको भन्दै मेन्टर र सल्लाहकारबाट सुझाव लिन पनि भनिएको छ।

रास्वपाले आगामी निर्वाचन तयारीका लागि ‘क्यान्डिडेट क्लब’ अभ्यास वैशाख २० देखि सुरु हुने जानकारी दिँदै कुनै पनि नेताले टिकटबारे व्यक्तिगत प्रतिबद्धता नगर्न निर्देशन दिएको छ। निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी पनि पार्टीले दिएको छ।

यसअघि सांसद विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएपछि यो निर्णय आएको हो।