जेनजीको मनोविज्ञानअनुसार परिवर्तनको बाटोमा छौं : प्रचण्ड


काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र पुस्तान्तरण, संगठनात्मक शुद्धिकरण र सांस्कृतिक रूपान्तरणको प्रक्रिया सुरु भइसकेको घोषणा गरेका छन्।
विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेनरेशन जेनजीको भावना र मनोविज्ञानअनुसार पार्टीले आफूलाई नयाँ ढंगले तयार गरिरहेको बताएका छन्।
"हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञान आत्मसात् गर्दै रूपान्तरणको प्रक्रिया सुरु गरिसकेको छ," प्रचण्डको भनाइ छ।
उनका अनुसार, हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको विशेष महाधिवेशन मंसिरमा गर्ने निर्णय गरिसकेको र जेनजी र युवाहरूको सक्रिय र उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरिएकाे वताएका छन् ।
प्रचण्डले शुभकामना सन्देशमा संविधान निर्माणका क्रममा उठाइएका तर सम्बोधन हुन नसकेका मुद्दाहरू पुनः प्रासंगिक बनेको उल्लेख गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयताको स्वरूप, र सामाजिक न्यायसँग जोडिएका विषयहरू फेरि जनताबीच बहसको विषय बनेको भन्दै उनले ती विषयमा पार्टी स्पष्ट मार्गचित्र लिएर अघि बढ्ने बताएका छन्।
“महान जनयुद्धदेखि संविधान निर्माणसम्म खेलेको भूमिकालाई निरन्तरता दिँदै वर्तमान जटिल अवस्थालाई अग्रगामी रूपान्तरणतर्फ मोड्न हाम्रो पार्टी कटिबद्ध छ,” प्रचण्डले भने।
यस्तै प्रचण्डले दशैंजस्ता सांस्कृतिक चाडहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।