सरकारले संसद् र जनतालाई हेप्योः सभापति थापा
Prime TV News १ हप्ता अगाडि 
रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संसद्प्रति विश्वास नगरेको आरोप लगाएका छन्।
रौतहटमा पार्टीका नेता तथा कार्यकर्तासँग कुरा गर्दै उनले सरकारले संसद् र जनतालाई हेपेको बताएका हुन्। उनले प्रतिनिधिसभाको बैठक बोलाएर फेरि कुनै सूचना नदिई स्थगित गरिएकोप्रति असन्तुष्टि जनाए। उनले यस्तो कामले संसद्को सम्मान घटाएको टिप्पणी गरे ।
उनले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास नभएकै कारण अध्यादेश ल्याइएको दाबी समेत गरे । थापाले संवैधानिक परिषद्मा पनि प्रधानमन्त्रीले आफ्नो अनुकूल निर्णय गराउन खोजेको आरोप लगाए। उनले नियुक्ति प्रक्रियामा सुधार आवश्यक रहेको बताए।
उनले कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले यस्ता गतिविधि स्वीकार नगर्ने चेतावनी दिए। साथै, सरकारले आफ्नो शैली सच्याएर सही बाटोमा अघि बढ्नुपर्ने सुझाव दिएका छन्।







