देश असफलता तर्फ, अब निर्णायक परिवर्तन आवश्यक- नेता भुसाल

User Image Prime TV News ६ दिन अगाडि
Image of देश असफलता तर्फ, अब निर्णायक परिवर्तन आवश्यक- नेता भुसाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक गहिरो राजनीतिक र नैतिक संकटतर्फ उन्मुख भएको भन्दै तत्काल संरचनात्मक परिवर्तनको आह्वान गरेका छन्।

सोमबार सार्वजनिक गरिएको एक प्रेस वक्तव्यमार्फत उनले भ्रष्टाचार, कुशासन र जवाफदेही नेतृत्वको अभावलाई हालको संकटको जरो ठहर गर्दै, मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन अहिले नै गम्भीर र ठोस हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

भुसालले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्तिको विस्तृत छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन्।

उनले भने,“श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न सक्नुपर्छ।उनका अनुसार यो कदमले मात्र पनि राजनीतिमा पारदर्शिता र जनविश्वासको पुनर्स्थापना गर्न सक्नेछ।

भदौ २३ गतेको जेनजीु प्रदर्शनलाई समर्थन जनाउँदै भुसालले युवाहरूले उठाएका प्रश्नहरूलाई गम्भीर सन्देशका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले प्रमुख राजनीतिक नेताहरूले आत्मआलोचना गर्दै अब बिदा लिनुपर्ने धारणा राखेका छन्।

नयाँ पुस्ता परिवर्तनको पक्षमा उठेको छ, तर पुरानो नेतृत्वले उनीहरूको आवाज सुन्नुको साटो दमन गरिरहेको छ,” उनले विज्ञप्तिमा लेखेका छन्।

२०७२ को संविधानलाई दलहरू र जनताबीचको सम्झौताका रूपमा चित्रण गर्दै भुसालले पछिल्ला वर्षहरूमा त्यो सम्झौता स्वयं नेताहरूले उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनले संविधान जारी भएयता देशमा भएको राजनीतिक अभ्यासको समीक्षा गर्न श्वेतपत्र प्रकाशितू गर्नुपर्ने बताए।

भुसालका अनुसार, भदौ २३ गतेको प्रदर्शनमा भएको बल प्रयोग र त्यसपछिका घटनाक्रमले मुलुकलाई राजनीतिक शून्यता र नैतिक पतनतर्फ धकेलिएको उल्लेख गरेका छन् ।