आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँग नेपालको हार

User Image Prime TV News १ हप्ता अगाडि
Image of आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँग नेपालको हार

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, नेपाल र युएईबीचको त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई डकवर्थ–लुइस  नियमअनुसार १०२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको २०६ रनको लक्ष्य पछ्याइरहेको नेपाल ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल अघि बढ्न नसक्दा डि एल एस नियमअनुसार ओमान विजयी भएको हो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६० रनको राम्रो इनिङ्स खेले। उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। भीम सार्कीले २६ रन बनाए भने कुशल भुर्तेल मात्र १ रनमा आउट भए। अन्य ब्याटरमध्ये आसिफ शेखले १९ रन, रोहित पौडेलले १० रन, आरिफ शेखले १४ रन र बसिर अहमदले १ रन बनाए।

ओमानका बलरमध्ये नदीम खानले ३ विकेट लिए भने सकिन अहमदले २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो। कप्तान जतिन्दर सिंह ले शतक प्रहार गर्दै १३० रन बनाए। उनले ९६ बलमा १५ चौका र ५ छक्का हाने। ओमानका लागि जितेन रामानन्डीले ४३ रन, आर्यन विष्टले ३५ रन र हमद मिर्जाले ३० रनको योगदान दिए।

नेपालका बलरमध्ये सोमपाल कामी ले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए। यो हारपछि लिग–२ मा नेपालको स्थिति अझ कमजोर बनेको छ। नेपाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ भने ओमान २६ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ।