ट्रम्पका विशेष दूत आज नेपाल आउँदै, प्रधानमन्त्री बालेनसँग भेट अझै अन्योल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने भ्रमणका लागि काठमाडौं आउँदै छन्। केही दिनअघि मात्र अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले नेपाल भ्रमण सकेर फर्किएका थिए। त्यसपछि फेरि उच्च तहका दूत आउनुले अमेरिका नेपालप्रति चासो बढाउँदै गएको देखिन्छ। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन्। नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजना बनाएका छन्। तर अहिलेसम्म त्यो भेट निश्चित भएको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार गोरसँग भेटघाटको कुनै तय कार्यक्रम छैन। यद्यपि भेट गराउन प्रयास भने भइरहेको छ। प्रधानमन्त्रीसँग भेट नभए पनि गोरले अर्थमन्त्री स्वणीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेट गर्ने निश्चित भएको छ। यो भ्रमण मुख्य रूपमा लगानी र आर्थिक सहकार्यमा केन्द्रित रहने बताइएको छ। गोरलाई अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका र प्रभावशाली व्यक्ति मानिन्छ। यसअघि उनले बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशको भ्रमण गरिसकेका छन्। यता प्रधानमन्त्री बालेन शाह भने पद सम्हालेदेखि नै कडाइमा देखिएका छन्। उनले अहिलेसम्म व्यक्तिगत रूपमा विदेशी अधिकारीसँग भेट गरेका छैनन्। उनी उच्च तहका नेतासँग मात्र भेट्ने सोचमा छन्। यसैबीच, भारतका विदेश सचिव विक्रम मिस्री पनि वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ। उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा ल्याउने बताइएको छ। तर त्यो निमन्त्रणा सिधै प्रधानमन्त्रीलाई दिने कि मन्त्रालयमार्फत, अझै स्पष्ट भएको छैन ।







