फागुन २१ गते भएको निर्वाचन असामान्यः प्रचण्ड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते भएको निर्वाचन असामान्य भएको बताएका छन्। उनले विभिन्न ठाउँबाट आएको जानकारीका आधारमा चुनावको परिणाम स्वाभाविक नदेखिएको बताएका हुन्।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिमको मुसिकोटमा पत्रकारसँग कुरा गर्दै उनले केही उम्मेदवारले आफूले हालेको भोट पनि नपरेको गुनासो गरेको बताए। कतिपय ठाउँमा अनपेक्षित रूपमा धेरै भोट आएको र कतिपयमा भोट हराएको जस्ता कुरा आएको उनको भनाइ छ।
उनले यस विषयमा थप अनुसन्धान गर्नुपर्ने बताएका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी ले पाएको मतलाई भने स्वीकार गरेको उनले स्पष्ट पारे। प्रचण्डले आफ्नो पार्टीले सरकारका राम्रो काममा साथ दिने र नराम्रो काममा विरोध गर्ने बताए। उनले आफूहरू रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।
उनले अब पार्टीमा युवालाई बढी अवसर दिने योजना पनि सुनाए। वडादेखि केन्द्रसम्म नेतृत्व निर्वाचनबाट चयन गर्ने र प्रत्येक तहमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने उनले बताए। यसका साथै, उनले सरकारका केही निर्णयको आलोचना गरेका छन्। सुकुमवासी हटाउने, अध्यादेश ल्याउने र संसद् बैठक स्थगित गर्ने जस्ता काम असंवैधानिक भएको उनले बताएका छन्।
सरकारका पछिल्ला गतिविधिले गलत दिशा लिन सक्ने भन्दै उनले सचेत हुन आग्रह गरेका छन्। साथै, कम्युनिस्ट आन्दोलनलाई फेरि सशक्त बनाउन पहल गर्ने पनि उनले बताएका छन्।







