त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले पदबाट राजीनामा दिने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले पदबाट राजीनामा दिने भएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले राजीनामा दिन लागेका हुन्।
शिक्षाध्यक्ष खड्ग केसीका अनुसार आजै उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनीहरूले कुलपति तथा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनेछन्। सरकारले विश्वविद्यालय तथा राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याएर राष्ट्रपतिसमक्ष पेस गरेपछि काममा सहजता होस् भन्ने उद्देश्यले राजीनामा दिने तयारी गरिएको बताइएको छ।
त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ। हालका पदाधिकारीहरू विश्वविद्यालय सुधारका काममा सक्रिय रहे पनि नयाँ कानुनी व्यवस्था आउने भएपछि पद छोड्ने निर्णय गरिएको हो। उपकुलपति दीपक अर्याल २०८२ असार २५ गते नियुक्त भएका थिए भने शिक्षाध्यक्ष र रजिस्ट्रार २०८० चैतमा नियुक्त भएका थिए।







