पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष उठे हार्छिन् : एमाले अध्यक्ष ओली

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष उठे हार्छिन् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा प्रवेश गरी अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरे पनि विजयी हुन नसक्ने दाबी गरेका छन्।

बुधबार काठमाडौं जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलमा ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्। प्रधानमन्त्री सचिवालयले छलफलका बुँदाहरू उल्लेख गर्दै सार्वजनिक गरेको स्पष्टीकरण नोटमा ओलीको भनाइ समावेश गरिएको छ।

'उहाँ पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न,' ओलीले भने, 'नेतृत्व लिने कुरा आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ, परिस्थिति अनुसार डटेर सामना गर्न सक्नुपर्छ।'

ओलीले भण्डारीले अध्यक्षमा पराजित भएपछि पार्टीविरोधी गतिविधिमा लाग्ने सम्भावना औंल्याउँदै त्यस्तो अवस्था आएमा पूर्वउपाध्यक्ष भीम रावलजस्तै स्पष्टीकरण माग्ने र आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने विकल्प पार्टीसँग हुने उल्लेख गरे।

'उहाँ हार्नुहुन्छ, त्यसपछि पार्टीविरोधी अभिव्यक्ति दिनुहुन्छ,' ओलीले भने, 'त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ।'

ओलीले आफूले यस्ता जटिल परिस्थितिबाट जोगाउनकै लागि पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजनक हैसियतमा रहन र सक्रिय राजनीतिमा नफर्कन सुझाव दिएको दाबी गरे।ओलीका अनुसार, भण्डारीले “च्यासलले सदस्यता खोस्यो”, “पार्टी नेतृत्व देश चलाउन असफल भयो” भन्ने झूटा आरोपसहितका अभिव्यक्ति दिन थालेकी छन्, जसले पार्टी एकतालाई कमजोर पार्न सक्ने खतरा रहेको छ। उनले भण्डारीसँग निकट रहेका व्यक्तिहरूलाई पनि यस्ता अभिव्यक्तिबाट टाढा राख्न सुझाए।

ओलीले भण्डारीले पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया र अन्य दलका नेताहरूसँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्कने संकेत दिएकोप्रति पनि आपत्ति जनाएका छन् ।