प्रलोपाले पाँच बुँदे कार्यक्रम सार्वजनिक गर्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रगतिशल लोकतान्त्रिक पार्टीले समाजवादी लोकतान्त्रिक आन्दोलनका लागि पाँच बुँदे कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौंमा वैशाख ११ र १२ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।
गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि पार्टीले समीक्षा गर्दै नयाँ कार्यक्रम ल्याएको जनाएको छ। प्रलोपाले आगामी दिनमा पार्टीलाई मजबुत बनाउन केन्द्रीय स्तरको समिति बनाउने योजना अघि सारेको छ। साथै, पार्टीको संरचना परिवर्तन गरी नयाँ ढङ्गबाट अघि बढ्ने पनि जनाएको छ।
पार्टीले वर्ग, जात, लैङ्गिक र क्षेत्रीय समस्याको समाधानका लागि सक्रिय रूपमा काम गर्ने बताएको छ। स्थानीय तहमा संगठन बलियो बनाउने, सरकारका कामको निगरानी गर्ने र कार्यकर्तालाई उत्पादन तथा रोजगारीसँग जोड्ने योजना पनि समेटिएको छ।
यसका साथै विपद्का बेला सहयोग र उद्धारमा सक्रिय रहने र आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर संगठन विस्तार गर्ने निर्णय गरिएको छ। प्रलोपाले सबै वामपन्थी र समाजवादी शक्तिहरूलाई एकजुट भई बलियो संगठन बनाउन आह्वान पनि गरेको छ।







