बुद्ध जयन्ती र उभौली पर्व आज देशभर मनाइँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज देशभर बुद्ध जयन्ती र उभौली पर्व विभिन्न कार्यक्रमका साथ मनाइँदै छन्। शान्तिका प्रतीक गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै दिन परेको विश्वासका कारण बुद्ध जयन्तीलाई विशेष दिनका रूपमा लिइन्छ।
धार्मिक मान्यताअनुसार बुद्धको जन्म लुम्विनीमा भएको हो। २५७०औँ बुद्ध जयन्तीको अबसरमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
यस अवसरमा लुम्बिनी लगायत देशका विभिन्न स्थानमा पूजा, दीप प्रज्वलन, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्। बौद्ध तथा नेवार समुदायले विशेष रूपमा बुद्धका मूर्ति सजाएर नगर परिक्रमा गर्ने परम्परा पनि निभाएका छन्। बुद्धले दिएका शान्ति, करुणा र सदाचारका सन्देश आज पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन्। तर व्यवहारमा ती मूल्य नअपनाउँदा समाजमा समस्या कायमै रहेको देखिन्छ। यस्तै, आज किरात समुदायको उभौली पर्व पनि मनाइँदै छ। यो पर्व प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने परम्परासँग जोडिएको छ। जाडो सकिएर गर्मी सुरु हुने समयमा मनाइने उभौली खेतीपाती सुरु गर्ने संकेत पनि हो। उभौलीको मुख्य आकर्षण साकेला (सिली) नाच हो। हलेसी महालेव लगायत विभिन्न स्थानमा विशेष कार्यक्रम भइरहेका छन् भने काठमाडौँ उपत्यकामा पनि उत्साहका साथ मनाइँदै छ।







