इन्धनमा आंशिक घटबढ: पेट्रोल–डिजेल सस्तो, ग्यास र हवाइ इन्धन महँगियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको छ। शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटेर २१७ रुपैयाँ पुगेको छ। डिजेल–मट्टितेल १२ रुपैयाँले घटेर प्रतिलिटर २२५ रुपैयाँ कायम गरिएको छ।
तर खाना पकाउने एलपी ग्यास भने १५० रुपैयाँले महँगिएको छ। अब १४.२ किलोग्रामको ग्यास २ हजार १६० रुपैयाँ र ७.१ किलोग्रामको १ हजार ८० रुपैयाँ पुगेको छ।
यस्तै, हवाइ इन्धन पनि महँगिएको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ७ रुपैयाँले बढेर २६९ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि मूल्य १ हजार ८३१ अमेरिकी डलर कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकेभन मूल्य राखिएको छ।
निगमले पश्चिम एसियामा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाएको छ। सोही आधारमा इन्डियन आयल कर्पोरेसनबाटबाट आएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको हो। निगमका अनुसार नयाँ मूल्य कायम गर्दा पनि प्रत्येक १५ दिनमा करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको छ। पेट्रोल र डिजेल सस्तो भए पनि ग्यास र हवाइ इन्धन महँगिएकाले उपभोक्तालाई पूर्ण राहत भने नपुगेको देखिन्छ।







