श्रमिक अधिकार कार्यान्वयनमा सरकार जिम्मेवार बनोस्: प्रचण्ड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पुष्पकमल दाहालले श्रमिक अधिकारको संरक्षण र कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले आठ घण्टा कामको मागसहित अमेरिकाको शिकागोमा भएको ऐतिहासिक श्रमिक आन्दोलनको स्मरण गरेका छन्। उनले श्रमिक वर्ग, विशेषगरी किसान, मजदुर र सुकुमबासीको हक–हितको संरक्षणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
प्रचण्डले श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीतिहरू लागू गर्न सरकारलाई आग्रह गरेका छन्। साथै ट्रेड युनियन अधिकार र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारको कार्यान्वयनमा कुनै प्रकारको कमजोरी नगर्न पनि उनले चेतावनी दिएका छन्।
उनले श्रमिकका अधिकारमा कटौती गर्ने कुनै पनि प्रयासप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन्। श्रमिक दिवसका अवसरमा उनले सबै श्रमिकलाई शुभकामना दिँदै अधिकारका लागि एकजुट हुन आह्वान गरेका छन्।







