आङ सान सुकीलाई हिरासतबाट घरमै नजरबन्दमा सारिएको खबर सार्वजनिक

User Image Prime TV News १ हप्ता अगाडि
Image of आङ सान सुकीलाई हिरासतबाट घरमै नजरबन्दमा सारिएको खबर सार्वजनिक

काठमाडौ । म्यानमारकी प्रजातन्त्र पक्षधर नेत्री आङ सान सुकीलाई हिरासतबाट घरमै नजरबन्दमा सारिएको खबर सार्वजनिक भएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार उनलाई अब बाँकी सजाय घरमै बसेर पूरा गर्न दिइने बताइएको छ।

८० वर्षीया सुकीलाई सन् २०२१ मा सैन्य ‘कू’पछि पक्राउ गरिएको थियो। त्यसयता उनलाई राजधानी नेपिदअस्थित सैन्य जेलमा राखिएको विश्वास गरिँदै आएको थियो। तर, यस विषयमा अझै अन्योल कायमै छ।

उनका छोरा किम एरिसले यो दाबीप्रति शंका व्यक्त गरेका छन्। उनले आफ्नी आमा वास्तवमै घरमा सारिएको भन्ने पुष्टि गर्ने कुनै ठोस प्रमाण आफूले नदेखेको बताएका छन्। साथै सार्वजनिक गरिएको तस्बिर पनि पुरानो भएको उनको भनाइ छ।

म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङले भने सुकीलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरिएको बताएका छन्। उनी नै सन् २०२१ को सैन्य कूका मुख्य नेतृत्वकर्ता हुन्। सुकी सन् २०१५ मा सत्तामा आएकी थिइन् र लामो समयदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएकी थिइन्। यसअघि पनि उनले सैन्य शासनका बेला धेरै वर्ष घरमै नजरबन्दमा बिताएकी थिइन्।