सुकुम्बासी समस्या डोजरले होइन, पुनर्स्थापनाबाट समाधान गर्नुपर्छ: बाबुराम भट्टराई
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या समाधान गर्दा सरकारले मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। आज एक भिडियो सन्देशमार्फत विस्थापित बस्तीहरूको अवलोकनपछि उनले सुकुम्बासी समस्या केवल डोजर चलाएर समाधान नहुने स्पष्ट पारे।
उनले यो समस्या सहरीकरणसँगै स्वाभाविक रूपमा देखिने भएकाले योजनाबद्ध रूपमा समाधान खोज्नु पर्ने बताए । उनले हाल विस्थापित परिवारहरू राखिएका होल्डिङ सेन्टरहरूमा आधारभूत सुविधा नै नपुगिरहेको पनि बताए। त्यसका कारण बालबालिकाको पढाइ प्रभावित भएको र धेरै परिवारको रोजगारी गुमेको उनले उल्लेख गरे।
डा. भट्टराईले सुकुम्बासीलाई “अवाञ्छित नागरिक” वा “फोहोर” जस्तो व्यवहार गर्नु गलत भएको बताए। उनले संविधानले आवासलाई मौलिक हक मानेकाले पहिले उनीहरूको उचित पुनर्स्थापना गर्नुपर्ने र त्यसपछि मात्र बस्ती हटाउने नीति अपनाउनुपर्ने सुझाव दिए।
उनका अनुसार सुकुम्बासी समस्या समाधान गर्न सरकारले निश्चित समयसीमा तोकेर वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्छ। साथै शिक्षा, स्वास्थ्य, रोजगारी र खुला स्थानको व्यवस्थामा पनि ध्यान दिनुपर्ने उनले जोड दिए। नागार्जुनको इचंगुनारायणमा रहेका अपार्टमेन्टहरूलाई सुकुम्बासी पुनर्स्थापनाका लागि प्रयोग गर्न सकिने उनको सुझाव छ।
उनले काठमाडौँ उपत्यकाको व्यवस्थित विकासका लागि आफूले प्रधानमन्त्री हुँदा गठन गरेको उपत्यका विकास प्राधिकरणलाई अझ सशक्त बनाउनुपर्ने पनि बताएका छन्।







