कैलास मानसरोवर यात्राका लागि भारतले आवेदन खुला गर्‍यो, लिपुलेक मार्गबारे विवाद फेरि उठ्ने संकेत

User Image Prime TV News १ हप्ता अगाडि
Image of कैलास मानसरोवर यात्राका लागि भारतले आवेदन खुला गर्‍यो, लिपुलेक मार्गबारे विवाद फेरि उठ्ने संकेत

काठमाडौ । भारतले सन् २०२६ का लागि प्रसिद्ध धार्मिक यात्रा कैलास मानसरोवर यात्राको आवेदन खुला गरेको छ। भारतको विदेश मन्त्रालयका अनुसार यो यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुनेछ।

मन्त्रालयले जारी गरेको जानकारी अनुसार यात्रा जुनदेखि अगस्ट महिनासम्म हुनेछ। यात्राका लागि आवेदन अनलाइनमार्फत गर्न सकिनेछ र अन्तिम मिति मे १९ तोकिएको छ। यस वर्ष यात्राका लागि दुईवटा मुख्य मार्ग तय गरिएको छ।

पहिलो उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र दोस्रो सिक्किम हुँदै नाथुला पासबाट हुनेछ। दुवै मार्गबाट गरी करिब १,००० जना यात्रु सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। छनोट प्रक्रिया कम्प्युटर प्रणालीमार्फत “रेन्डम” विधिबाट गरिने बताइएको छ। साथै, छनोट गर्दा महिला र पुरुषबीच सन्तुलन कायम गर्न पनि ध्यान दिइनेछ।

तर लिपुलेक मार्ग प्रयोग हुने विषय फेरि विवादमा आएको छ। नेपालले लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। तर भारतले भने यी क्षेत्रलाई आफ्नो प्रशासनिक नियन्त्रणमा राख्दै आएको छ। यसअघि पनि लिपुलेक हुँदै भारत र चीनबीच सहमति भएपछि नेपालले आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो। यो सीमा विवाद लामो समयदेखि समाधान हुन सकेको छैन।

कैलास मानसरोवर यात्रा हिन्दू, बौद्ध र जैन धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिन्छ, जसमा प्रत्येक वर्ष हजारौँ भक्तजन सहभागी हुने गर्छन्।