दीपेन्द्र ऐरीको शतकमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of दीपेन्द्र ऐरीको शतकमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दियो

काठमाडौ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २९० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो। नेपालका लागि दीपेन्द्र ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा १०० रन बनाए। उनले १३ चौका र १ छक्का प्रहार गरे। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक हो।

दीपेन्द्रले गुल्सन झासँग छैटौँ विकेटका लागि १०२ रनको महत्वपूर्ण साझेदारी गरे। गुल्सन झाले ४४ रन बनाए। ओपनर विनोद भण्डारीले पनि राम्रो प्रदर्शन गर्दै ५६ रन जोडे। उनले ७९ बलमा ७ चौका प्रहार गरे। कप्तान रोहित पौडेलसँग मिलेर उनले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। विनोद तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।

कप्तान रोहित पौडेलले ३९ रन बनाए भने आरिफ शेख र अर्जुन कुमालले समान ११–११ रन बनाए। यूएईका बलरमध्ये अजय कुमार र जुनैद सिद्दिकीले २–२ विकेट लिए भने हैदर अली र खुजैमाबिन तन्विरले १–१ विकेट लिए।

नेपालले अब यूएईविरुद्ध जित निकाल्दै लिग–२ मा आफ्नो स्थिति सुधार गर्ने लक्ष्य राखेको छ। तालिकामा नेपाल २२ खेलमा १४ अंकसहित सातौँ स्थानमा छ भने यूएई पुछारमा रहेको छ।