ट्राफिक प्रहरीले लाइसेन्स र चाबी जफत गर्न नपाउने सर्वोच्चको व्याख्या

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्राफिक प्रहरीले लाइसेन्स र चाबी जफत गर्न नपाउने सर्वोच्चको व्याख्या

काठमाडौ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र सवारी चाबी नियन्त्रणमा लिनु गैरकानुनी हुने स्पष्ट व्याख्या गरेको छ। न्यायाधीश श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत पुस ६ गते गरेको यो व्याख्या अहिले सार्वजनिक भएको हो।

यो मुद्दा कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटसँग सम्बन्धित हो। उनले ट्राफिक प्रहरीले कानुनमा व्यवस्था नभए पनि चालकको लाइसेन्स र अन्य कागजात नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्चमा रिट दिएका थिए।

सर्वोच्चले आफ्नो आदेशमा ट्राफिक प्रहरीलाई सवारी नियम उल्लंघनमा जरिवाना गर्ने अधिकार मात्र भएको बताएको छ। तर लाइसेन्स, ब्लुबुक वा सवारी चाबी जफत गर्ने अधिकार कानुनले नदिएको स्पष्ट पारेको छ। अदालतले यस्तो कार्यले नागरिकको आवतजावत गर्ने र आफ्नो काम–काज गर्ने स्वतन्त्रतामा असर पार्ने भन्दै यो विधिको शासन विपरीत हुने जनाएको छ।

निर्देशनात्मक आदेशमा ट्राफिक प्रहरीलाई कानुन बाहिर गएर लाइसेन्स, ब्लुबुक वा चाबी नियन्त्रणमा नलिन भनिएको छ। सर्वोच्चले राज्यका निकायले गर्ने सबै काम कानुनमा आधारित हुनुपर्ने र कानुनी अधिकारभन्दा बाहिर गएर गरिएका निर्णय मान्य नहुने पनि उल्लेख गरेको छ।