नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक टी-२० सिरिज जित्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक टी-२० सिरिज जित्यो

काठमाडौ । नेपाली क्रिकेट इतिहासमा एक नयाँ अध्याय लेखिएको छ। लगातार दोस्रो जितसँगै नेपालले वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज २० ले आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै सिरिजमा अपराजित अग्रता बनायो। यस जितसँगै नेपालले पहिलोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध टी-२०आई सिरिज जित्न सफल भएको हो।

नेपालको बलिङमा आदिल आलमको दबदबा

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा मात्र ८३ रनमा समेटियो। नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअपलाई तहस-नहस पारे।

लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएर म्यान अफ द म्याच बन्ने प्रदर्शन गरे।

कुशल भुर्तेलले ३ विकेट लिए भने करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट झार्दै दबाव कायम राखे ।वेस्ट इन्डिजका तीन ब्याटर मात्र दोहोरो अंकमा रन बनाउन सके। जेसन होल्डरले २१ रन बनाएर सबैभन्दा बढी योगदान दिए।

आसिफ र सन्दीपको अर्धशतकले बनायो बलियो स्कोर

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनायो। नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा आक्रामक ६३ रन जोडे।

कप्तान रोहित पौडेल, कुशल मल्ल, आदिल आलम र गुल्सन झा खासै टिक्न नसके पनि मध्यक्रमको सशक्त प्रदर्शनले नेपाललाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍यायो।

वेस्ट इन्डिजका बलर काइल मेयर्स र अकिल होसेनले २२ विकेट लिए भने जेडियाह ब्लेड्सले १ विकेट लिए।

इतिहास रच्ने यात्रा

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै सिरिजमा अग्रता लिएको थियो। अब मंगलबार हुने तेस्रो तथा अन्तिम खेलमा नेपाल क्लिन स्विपको लक्ष्य लिएर मैदानमा उत्रिनेछ। यो जित केवल एक सिरिजको उपाधि मात्र नभइ, नेपाली क्रिकेटको आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुने यात्राको थालनीको रुपमा हेरिएको छ ।