सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला, सेना परिचालन

User Image Prime TV News ६ दिन अगाडि
Image of सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला, सेना परिचालन

काठमाडौ । सल्यानमा नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र उत्खनन गर्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका बममध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। साथै उत्खननका क्रममा ७ थान वाकीटाकी, ५०० ग्राम तयारी विस्फोटक पदार्थ, २ केजी बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल पनि भेटिएको छ।

प्रहरी प्रमुख हेमबहादुर केसी का अनुसार बुधबार दिउँसो पहिलोपटक शंकास्पद वस्तु फेला परेको थियो। त्यसपछि नेपाली सेना सँग समन्वय गरी बम निष्क्रिय पार्ने काम सुरु गरिएको हो।

पहिलो दिन नै साँझसम्म १० वटा सकेट बम फेला परेका थिए। बम निष्क्रिय पार्न सिद्धीबक्स गण, कालीभक्ति गण र १९ बाहिनी तुलसीपुर बाट नेपाली सेनाका टोली परिचालन गरिएको थियो ।