स्थानीय तहका कर्मचारीको विरोध सुरु, एक सातासम्म फरक पोसाकमा काम गर्ने

User Image Prime TV News ५ दिन अगाडि
Image of स्थानीय तहका कर्मचारीको विरोध सुरु, एक सातासम्म फरक पोसाकमा काम गर्ने

काठमाडौ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले देशभरका स्थानीय तहमा काम गर्ने कर्मचारीलाई एक सातासम्म फरक पोसाक लगाएर काम गर्न आह्वान गरेको छ। यो कार्यक्रम सोमबारदेखि सुरु हुनेछ।

सञ्जालले संघीय निजामती सेवा विधेयकमा विभेद भएको भन्दै सरकारको ध्यान तान्न यस्तो कदम चालिएको जनाएको छ। कर्मचारीलाई नियमित निजामती पोसाक नलगाई अन्य औपचारिक पोसाकमा काम गर्न भनिएको छ।

सञ्जालका अनुसार लामो समयदेखि संघीय निजामती ऐन नबन्दा स्थानीय तहका कर्मचारीको भविष्य अन्योलमा परेको छ। एउटै परीक्षाबाट जागिर पाएका कर्मचारीबीच नै सेवासुविधा र अवसरमा फरक व्यवहार गरिएको उनीहरूको गुनासो छ।

नयाँ विधेयकको मस्यौदाले पनि समस्या समाधान नगरेको भन्दै सञ्जाल असन्तुष्ट छ। उनीहरूले यसअघि गरेको आन्दोलनपछि भएका सहमति पनि लागू नभएको बताएका छन्।