स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका धेरै निकाय एकैचोटि खाली

User Image Prime TV News ५ दिन अगाडि
Image of स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका धेरै निकाय एकैचोटि खाली

काठमाडौ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेसँगै स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका धेरै निकाय एकैचोटि खाली भएका छन्।

अध्यादेश जारी भएसँगै विभिन्न ऐनअन्तर्गत नियुक्त भएका १५९४ जना पदाधिकारीहरू पदमुक्त भएका हुन्। यसले देशभरका स्वास्थ्य, अनुसन्धान र चिकित्सा शिक्षा संस्थाहरूमा ठूलो प्रभाव पारेको छ।

पदमुक्त हुनेमा चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थाहरूका पदाधिकारी रहेका छन्।

यसैगरी आयुर्वेद चिकित्सा परिषद्, नर्सिङ परिषद्, फार्मेसी परिषद्, स्वास्थ्य बीमा बोर्ड र जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका पदाधिकारी पनि हटाइएका छन्। सरकारले प्रशासनिक सुधार र राज्यका निकायहरूलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ। तर एकैपटक धेरै पद खाली हुँदा कामकाजमा असर पर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अब ती पदहरूमा नयाँ नियुक्ति प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।