स्वतन्त्र प्रेस विना सुशासन र पारदर्शिता सम्भव छैनः संचार मन्त्री तिमिल्सिना
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस विना सुशासन र पारदर्शिता सम्भव नहुने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्।
उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सञ्चारमाध्यमले राज्य र समाजलाई जवाफदेही बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए। मन्त्री तिमिल्सिनाले पत्रकारितामा स्वतन्त्रतासँगै जिम्मेवारी र तथ्यमा आधारित समाचार आवश्यक हुने पनि उल्लेख गरेका छन्। उनले प्रेसको विश्वसनीयताले नै लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गरे ।
डिजिटल युगमा गलत सूचना र भ्रामक सामग्री बढ्दै गएको भन्दै उनले यस्तो अवस्थामा सत्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताएका छन्। मन्त्री तिमिल्सिनाले पत्रकार तथा सञ्चारकर्मीहरूको योगदानको प्रशंसा गर्दै स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।







