अध्यादेश कुनै गलत उद्देश्यका लागि ल्याइएको हैनः कानुनमन्त्री गौतम

User Image Prime TV News ५ दिन अगाडि
Image of अध्यादेश कुनै गलत उद्देश्यका लागि ल्याइएको हैनः कानुनमन्त्री गौतम

काठमाडौ । सरकारले ल्याएको अध्यादेशको विरोध भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारको निर्णयबारे स्पष्टीकरण दिएकी छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले अध्यादेश कुनै गलत उद्देश्यका लागि नभई काम छिटो र प्रभावकारी बनाउन ल्याइएको बताइन्।

उनका अनुसार सरकारले जनताका समस्या छिटो समाधान गर्नुपर्ने भएकाले अध्यादेश आवश्यक परेको हो। संसद्‌मार्फत सामान्य प्रक्रियाबाट कानुन बनाउन खोज्दा पनि कम्तीमा तीनदेखि चार महिना लाग्ने भएकाले समय बचत गर्न यस्तो निर्णय गरिएको उनले दाबी गरिन्।

मन्त्री गौतमले विगतका सरकारहरूले अध्यादेशको दुरुपयोग गरेको उदाहरणहरू रहेको स्वीकार गर्दै त्यसै कारण यसप्रति आलोचना हुने गरेको पनि बताइन्। तर अहिलेको सन्दर्भ फरक रहेको र सरकार छिटो काम गर्न चाहेको उनको भनाइ छ। उनले केही क्षेत्रमा कानुनी अस्पष्टता र अभावका कारण काम अघि बढाउन कठिन भइरहेको भन्दै त्यस्ता अवरोध हटाउन अध्यादेश आवश्यक भएको उल्लेख गरिन्।

संविधानको धारा ११४ अनुसार सरकारलाई अध्यादेश ल्याउने अधिकार रहेको स्मरण गराउँदै उनले राष्ट्रपति कार्यालयबाट जारी सबै अध्यादेश संसद्‌मा पेस गरिने जानकारी पनि दिइन्।