ऐलानी जग्गामा बसोबास स्वीकार गर्दै सांसद खनालले दिए स्पष्टीकरण
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । देशभर सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने अभियान चलिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा बनेको विषय सार्वजनिक भएको छ।
कैलालीको लम्कीचुहा क्षेत्रमा रहेको उनको घर ऐलानी जग्गामा बनेको चर्चा भएपछि सांसद खनालले यसबारे प्रस्टिकरण दिएका छन्। उनका अनुसार उनको परिवार लामो समयदेखि सोही क्षेत्रमा ऐलानी जग्गामा बस्दै आएको हो। उनले आफूहरूले नदी किनार अतिक्रमण नगरेको स्पष्ट पारेका छन्।
उनले लालपुर्जा नभए पनि ऐलानी जग्गामा बसोबास गर्दै आएको स्वीकार गरेका छन्। उनले लम्कीचुहा क्षेत्रमा धेरै परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएको भन्दै त्यहाँ ठूलो संख्यामा पक्की घरहरू पनि बनेको बताएका छन्।
खनालका अनुसार विगतमा भूमि आयोगमार्फत समस्या समाधान गर्ने आश्वासन दिइए पनि अझै लालपुर्जा नपाएको अवस्था छ। उनले सरकारले अब भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताएका छन्। उनले आफ्नो घरबारे आएको समाचारप्रति आपत्ति जनाउँदै आफू धेरै ऐलानी जग्गामा बस्ने नागरिकको प्रतिनिधि भएको बताएका छन्।
खनालले सरकारलाई भूमिसम्बन्धी समस्या छिटो समाधान गर्न आग्रह गरेका छन्।







