कार्तिक शर्माको अविजित अर्धशतक, चेन्नईलाई मुम्बईमाथि जित

User Image Prime TV News ५ दिन अगाडि
Image of कार्तिक शर्माको अविजित अर्धशतक, चेन्नईलाई मुम्बईमाथि जित

काठमाडौ । चेन्नई सुपर किंग्सका २० वर्षीय युवा ब्याटर कार्तिक शर्माले इन्डियन प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पुनः लय समातेका छन्। शनिबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा उनले अविजित ५४ रन बनाउँदै टोलीलाई ८ विकेटको जित दिलाएका छन्। उनले ४० बल खेलेर नटआउट अर्धशतक प्रहार गरेका हुन्।

यो सिजन सुरुवाती खेलमा संघर्ष गरेका कार्तिक केही समय टोली बाहिर पनि परेका थिए। तर मुम्बईविरुद्ध ‘इम्प्याक्ट प्लेयर’ का रूपमा मैदानमा फर्किएपछि उनले राम्रो प्रदर्शन गरेका छन्। खेलपछि चेन्नईका प्रशिक्षक स्टिफन फ्लेमिङ ले युवा खेलाडीलाई सफल बनाउन मानसिक तयारी र धैर्य सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्।

उनका अनुसार आईपीएल जस्तो ठूलो प्रतियोगितामा खेलाडीलाई मानसिक रूपमा तयार राख्न आवश्यक हुन्छ। घरेलु क्रिकेट र आईपीएलको दबाब फरक हुने भएकाले त्यसअनुसार खेलाडीको मानसिकता बुझ्नुपर्ने उनले बताए। कार्तिकले खेलमा मिस्ट्री स्पिनर एएम गजनफर र तेज बलर ट्रेन्ट बोल्टविरुद्ध आक्रामक ब्याटिङ गर्दै टोलीलाई लक्ष्य पूरा गर्न मद्दत गरेका थिए।

सन् २०२५ को डिसेम्बरमा भएको अक्सनमा चेन्नईले उनलाई १४.२ करोड भारुमा किनेको थियो। यससँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा अनक्याप्ड भारतीय खेलाडी बनेका थिए। चेन्नई व्यवस्थापनले उनलाई महेन्द्र सिंह धोनी जस्ता अनुभवी खेलाडीसँग समय बिताउने अवसर दिएर मानसिक रूपमा मजबुत बनाउन प्रयास गरिरहेको छ।