सुकुम्बासी व्यवस्थापनका लागि दर्ता केन्द्र पुग्न सरकारको अनुरोध
Prime TV News ५ दिन अगाडि 
काठमााडौ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणको क्रममा छुटेका तथा समस्या भोगिरहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
मन्त्रालयले शनिबार प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा पुग्न अनुरोध गरेको हो।
सरकारले वास्तविक भूमिहीन नागरिक पहिचान गर्न डिजिटल लगत संकलन सुरु गरेको जनाएको छ। दर्ता भएका नागरिकलाई सरकारले बनाएको होल्डिङ सेन्टरमा राखिने व्यवस्था गरिएको छ। होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्शजस्ता सेवा निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
आर्थिक रूपमा कमजोर र आफैं व्यवस्थापन गर्न नसक्ने नागरिकलाई यी सेवा लिन आग्रह गर्दै मन्त्रालयले वास्तविक सुकुम्बासी र भूमिहीनलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताएको छ। मन्त्रालयले कुनै पनि नागरिक अलपत्र नपर्ने गरी सुरक्षित र व्यवस्थित पुनर्स्थापना गर्ने प्रतिबद्धता पनि जनाएको छ।







