राष्ट्रिय खेलकुद परिषद्का २० जना सदस्य पदमुक्त हुने

User Image Prime TV News ५ दिन अगाडि
Image of राष्ट्रिय खेलकुद परिषद्का २० जना सदस्य पदमुक्त हुने

काठमाडौ । सरकारले ल्याएको अध्यादेशपछि राष्ट्रिय खेलकुद परिषद्का २० जना सदस्य पदमुक्त हुने भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ अनुसार अघिल्ला सरकारका पालामा नियुक्त भएका सदस्यहरूको पद स्वतः समाप्त हुने भएको हो।

३७ सदस्यीय बोर्ड रहेको राखेपमा हाल एक सदस्य नियुक्त हुन बाँकी छ। बाँकीमध्ये २० जना सदस्य पदबाट हट्ने भएका छन्। यसअघि राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिइसकेका छन् भने सदस्य सचिवको कार्यकाल सकिएपछि नयाँ नियुक्ति भएको छैन।

हाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। राखेप बोर्डमा सातै प्रदेशका सदस्य सचिव, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय र खेलकुद विकास महाशाखाका प्रतिनिधिहरू पनि पदेन सदस्यका रूपमा रहनेछन्। बोर्डको अध्यक्षता खेलकुदमन्त्रीले गर्ने व्यवस्था रहेको छ।