चार वटा मन्त्रालय खारेज गर्ने सरकारको तयारी
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । सरकारले मन्त्रालयको संख्या घटाउँदै नयाँ संरचना लागू गर्ने तयारी गरेको छ। यसअन्तर्गत केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ नाम दिने योजना अघि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार ४ वटा मन्त्रालय खारेज गरिनेछन् भने ६ वटा मन्त्रालयको नाम परिवर्तन गरिने तयारी भइरहेको छ।
सरकारले यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले संघीय तहमा १७ वटा मन्त्रालय राख्ने प्रस्ताव गरेको छ। तयारी अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गरिनेछ।
खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयमा गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ भने युवा, महिला, बालबालिका र सामाजिक क्षेत्रलाई मिलाएर नयाँ ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ बनाउने योजना छ। त्यस्तै खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइनेछ। सरसफाइ क्षेत्र स्वास्थ्य मन्त्रालयमा समेटिनेछ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइनेछ। केही अन्य विभागहरू पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने तयारी छ। सरकारले प्रशासनिक सुधारका लागि मन्त्रालयको संख्या घटाउँदै कामलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।







